काठमाडौ– लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले नटिङघम फरेस्टलाई ४–० गोलले हरायो।
एकपक्षीय खेलमा लेस्टरलाई जिताउन जेम्स म्याडिसनले दुई गोल गरे। हार्भे वार्नेस र पाटसन डाँकाले एक एक गोल थपेका थिए। पहिलो हाफमा तीन गोल गरेको लेस्टरले दोस्रो हाफमा एक गोल गरेको थियो।
२५औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए। दुई मिनेट लगत्यै हार्भे बार्नेसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ३५औं मिनेटमा जेम्स म्याडिसनले ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लेस्टरको अग्रता बलियो बनाए।
त्यसपछि ७३औं मिनेटमा अतिरिक्त खेलाडी पाटसन डाँकाले गोल गर्दै लेस्टरलाई सजिलै जिताए। ६२औं मिनेटमा जेमी भार्डीको स्थानमा मैदान प्रवेश गरेका हुन।
लिगमा पहिलो जितसँगै लेस्टरले चार अङ्क बनाएको छ। आठ खेल सकेको लेस्टर १९औं स्थानमा छ। पराजित नटिङघम समान चार अङ्कसहित अन्तिममा छ।
लिगको शीर्षस्थानमा रहेको आर्सनलको २१ अङ्क छ। दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको २० र तेस्रो स्थानमा रहेको टोट्टनहामको १७ अङ्क छ। एजेन्सी