काठमाडौँ– निजामती कर्मचारी सङगठनका अध्यक्ष पशुपति पोखरेल र महासचिव मीनबाहादुर विक पक्राउ परेका छन। निजामती कर्मचारी विधेयकको माग गर्दै आन्दोलनमा उत्रिएका स्वतन्त्र निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पोखरेल र महासचिव विकलाई प्रहरीले पक्राउ गरेकोे हो।
सिंहदरवारको दक्षिण गेटमा धर्ना दिन बसेका उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अनामनगर प्रहरी वृतमा राखिएको छ।
सङ्गठनले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेश गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधिकारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने, करार, ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायतको १० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ।
संघीय संसद् सुरु भएको साढे सात महिना हुँदा पनि सरकारले संघीय निजामती विधेयक संसद्मा ल्याउन सकेको छैन। संसद्को अघिल्लो कार्यकालमा सरकारले ल्याएको विधेयक राज्य व्यवस्था समितिले टुङ्ग्याएर सदनमा पेश गरेको थियो। संसद्मा रहेको विधेयक सरकारले फिर्ता लगेपछि ल्याउन नसकेको हो।