सार्वजनिक निकायको खरिद प्रतिस्पर्धी क्षमताको अनुगमन हुने - Chaitanya News
  • 2026-11-19
  • 06:43:40
  • बिहिबार,मंसिर ०४, २०८३
  • सार्वजनिक निकायको खरिद प्रतिस्पर्धी क्षमताको अनुगमन हुने

    सार्वजनिक निकायको खरिद प्रतिस्पर्धी क्षमताको अनुगमन हुने

    काठमाडौं- सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता भए नभएको तथा खरिद प्रतिस्पर्धी क्षमताको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीले सो कुरा बताएका छन्।

    सार्वजनिक खरिद सम्बन्धी कानुनी व्यवस्था हुँदा पनि सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीमा खरिद तत्परता नभएको कारणले पुजीगत खर्चको प्रभावकारिता हुन सकेको छैन। यसर्थ अव सार्वजनिक खरिद अनुगमन कार्यालयले उपरोक्त दुई पक्षमा समेत ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने भएको छ।

    कार्यालयले अव सबै सार्वजनिक निकायको खरिद योजना, खरिद विधि र समयमै खरिद कार्य अघि बढाउन सार्वजनिक निकायले अपनाएका तत्परता योजनाका बारेमा खरिद इकाई प्रमुख र योजना शाखा प्रमुखसँग नियमित अन्तरक्रिया गर्ने कुरा सचिव डा. रेग्मीले बताए।

    यसको साथै खरिद कानुनलाई समसामयिक बनाउन तयार गरिएको खरिद कानुनको मस्यौदामा छिटै सरोकारवालाहरू सँग छलफल गरी अन्तिम रूप दिइने सचिव डा. रेग्मीले बताए। सार्वजनिक खरिद महत्त्वपूर्ण विधा भएकोले यस विधाको सशक्तीकरण गर्दै संस्थागत साख अभिवृद्धिमा ध्यान दिनु पर्ने कुरा उनले बताए । निर्माण व्यवसायीहरूको मागको सम्बन्धमा हरेक विषयलाई छलफल गरी कानुन सम्मत रूपमा समाधान खोजिने कुरा उनले बताए।