टिकट नपाउँदा कर्णालीका यात्रु अलपत्र - Chaitanya News
  • 2026-04-19
  • 04:21:30
  • शनिबार,बैशाख ०५, २०८३
  • टिकट नपाउँदा कर्णालीका यात्रु अलपत्र

    टिकट नपाउँदा कर्णालीका यात्रु अलपत्र

    नेपालगन्ज — डोल्पाका चन्द्रखर बुढा दुई हप्तादेखि नेपालगन्ज विमानस्थलको होटलमा बसिरहेका छन्। उपचारका लागि काठमाडौं गएका उनी नेपालगन्ज हुँदै डोल्पा जान आएका हुन्। तर‚ अहिलेसम्म टिकट पाएका छैनन्। दैनिक टिकटका लागि हारगुहार गरे पनि आफूले टिकट पाउन नसकेको उनले बताए।

    ‘न त हाम्रा नेता छन्। न हामीले भनेको कसैले मान्छन्‚’ उनले भने, ‘उपचार खर्च र होटल खर्चमै पैसा सकियोस अझै घर जाने ठेगान छैन।’ बुढा दसैं मान्न घर जाँदैछन्। जहाजको टिकट नपाएपछि उनी विमानस्थल नजिकैको होटलमा बसिरहेका छन्।

    दुई वर्षको छोरोलाई लिएर एक हप्तादेखि होटलमा बसिरहेकी डोल्पाकी अन्जु बुढालाई छोराले घर जाउँ भनेर सताइरहेको छ । उपचारका लागि काठमाडौं गएकी अन्जुको पनि उस्तै अवस्था छ। उनले अझैसम्म घर जाने टिकट पाएकी छैनन्। ‘यति सानो छोरो छ । जति हारगुहार गरे पनि सिट छैन भन्दै फर्काउँछन्‚’ उनले भनिन्, ‘वर्षदिनको चाडबाड दसैंमा घर जान पाएका छैनौँ।’

    विमानस्थल नजिकै होटल सञ्चालन गरिरहेका विष्णुबहादुर रोकायले चाडबाडमा समेत टिकट नपाउँदा कर्णालीवासीले समस्या झेल्नुपरेको बताए। टिकटका लागि कुर्दाकुर्दै यात्रुको होटल खर्चसमेत सकिन लागेको उनले बताए।

    ‘पावर भएका व्यक्तिले टिकट पाउँछन् । भनसुन गर्नेको मात्र कुरा सुन्छन्,’ होटल सञ्चालक रोकायले भने, ‘होटललाई फाइदा भयो भनेर मात्र सोच्नुभएन। यात्रुको बिजोग भइसक्यो।’ रोकायले नियमित उडान नहुँदा धेरै जना अलपत्र परेकाले सरकारले सहज रुपमा उडानको व्यवस्था मिलाउनुपर्ने बताए।