शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्धा - Chaitanya News
  • 2026-11-17
  • 22:19:08
  • मंगलबार,मंसिर ०२, २०८३
  • शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्धा

    शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्धा

    काठमाडौं– दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो।

    भ्रष्टाचार मुद्दा लाग्नेहरूमा विष्टसहित इन्जिनियर सन्तोष पाण्डेय र राजेन्द्रसिंह धामी, सब–इन्जिनियर दिपकसिंह विष्ट, निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशी छन्। सडक निर्माणमा बढी लागत देखाएर सरकारी रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो।

    नगरपालिकाको वडा नं। ६ पनेबाज मौरीभिटादेखि वडा नं. ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गर्न उनीहरुले मिलेमतो गरेको अख्तियारको दाबी छ।

    अख्तियारका अनुसार आर्थिक वर्ष २०७४–०७५ र ०७५–०७६ मा सञ्चालित पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा झूठा बिलभरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी २६ लाख २ हजार ५५६ रुपैयाँ बढी भुक्तानी गरिएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम २६ लाख २ हजार ५५६ बिगो कायम गरी सजाय हुन मागदाबी गरेको छ।