काठमाडौं– सेप्टेम्बर २१ देखि ३० तारिखसम्म दशरथ रङ्गशालामा आयोजना हुने साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुनिल श्रेष्ठले पाएका छन।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सुनिललाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो। सुनिलले यसअघिपनि उमेर समूहको प्रशिक्षण गराउँदै आएका थिए।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले नेपालमा आयोजना हुने यू–१९ साफको समूह विभाजन र खेल तालिका सार्वजनिक गरिसकेको छ। नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपालसँगै पाकिस्तान र माल्दिभ्स रहेको छ।
नेपालले समूहको पहिलो खेल सेप्टेम्बर २१ तारिख पाकिस्तान र दोस्रो खेल २५ तारिख मालदिभ्ससँग खेल्नेछ। यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र भुटान रहेको छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। च्याम्पियनसिपको यो पाँचौँ संस्करण हो। नेपालले यसअघि दुई संस्करणको उपाधि जितेको थियो।