बैंक तथा वित्तीय संस्थाको कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा - Chaitanya News
  • 2026-11-17
  • 22:16:55
  • मंगलबार,मंसिर ०२, २०८३
  • बैंक तथा वित्तीय संस्थाको कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा

    बैंक तथा वित्तीय संस्थाको कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा

    काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूले क्षेत्रगत कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा गरेका छन्।

    नेपाल राष्ट्र बैंकले समयावधि ताकेर उनीहरूलाई क्षेत्रगत कर्जा र विपन्न वर्ग लक्षित वर्ग कर्जाको लक्ष्य हासिल गर्न निर्देशन दिएको थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत असार समान्तसम्मा उनीहरूले गरेको कूल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, छ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवं मझौला उद्यमको क्षेत्रमा प्रवाह गरिसक्न भनेको थियो।

    राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएको विवरणअनुसार वाणिज्य बैंकहरूले उक्त लक्ष्य पूरा गरेको देखिएको छ।

    गत जेठ मसान्तमा वाणिज्य बैंकहरूबाट प्रवाह भएको कूल कर्जामध्ये कृषि क्षेत्रमा १३ दशमलव १ प्रतिशत अर्थात् रू पाँच खर्ब ५२ अर्ब ९९ करोड कर्जा प्रवाह भएको छ।

    त्यस्तै, ऊर्जा क्षेत्रमा कूल कर्जाको छ दशमलव आठ प्रतिशत अर्थात् रू दुई खर्ब ८६ अर्ब ७७ करोड र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा नौ दशमलव नौ प्रतिशत अर्थात् रू चार खर्ब १८ अर्ब ३६ करोड कर्जा प्रवाह भएको छ।

    त्यसैगरी, विकास बैंकहरूलाई २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्न भनिएको थियो। गत जेठ मसान्तसम्ममा विकास बैंकबाट कृषि, लघु, घरेलु तथा साना उद्यम–व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कूल कर्जाको २४ दशमलव नौ प्रतिशत अर्थात् रू एक खर्ब १३ अर्ब १८ करोड कर्जा प्रबाह भएको छ।

    वित्त कम्पनीहरूले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत जेठ मसान्तसम्ममा वित्त कम्पनीबाट यस्तो क्षेत्रमा २२ दशमलव तीन प्रतिशत अर्थात् रू १९ अर्ब ६५ करोड लगानीमा छ।

    बैंक तथा वित्तीय संस्थाले आफ्नो कूल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ। वाणिज्य बैंकहरूबाट प्रवाह भएको कूल कर्जा सापटमध्ये २०८० जेठ मसान्तमा औसत छ दशमलव एक प्रतिशत अर्थात् रू दुई खर्ब ६० अर्ब ८४ करोड कर्जा विपन्न वर्गमा गएको छ।