काठमाडौं– बडादसैँमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन। काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिवार (आ) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन। ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ। उनले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँढ्ने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए।
त्यस्तै, कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दसैँमा घर जान नै नसकिने अवस्था आएको बताए। उनले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश समेत व्यक्त गरे।
केही यात्रुहरु भने टिकट नपाएपनि बसको क्याविनतिर बसेर घर जाने तयारीमा थिए। टिकट पाउनै गाह्रो भएकाले क्याविनतिर बसेर घर जाने तयारीमा आफू रहेको नेपालगञ्जकी दिलमाया खत्रीले बताईन। उनले बसको टिकट पाउने अवस्था नरहेको र आफूहरुले दुःख पाएको प्रतिक्रियासमेत दिईन्।
बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ। उनीहरुले सरकारले दसैँमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोशसमेत व्यक्त गरेका छन।