लम्पी स्किन महामारीः देशभर ४८ हजार १ सय ३३ पशुको मृत्यु - Chaitanya News
  • 2026-11-18
  • 22:15:44
  • बुधबार,मंसिर ०३, २०८३
  • लम्पी स्किन महामारीः देशभर ४८ हजार १ सय ३३ पशुको मृत्यु

    लम्पी स्किन महामारीः   देशभर ४८ हजार १ सय ३३ पशुको मृत्यु

    काठमाडौं – सरकारी तथ्यांकअनुसार साउन ३ गते सम्ममा देशभर लम्पी स्किनले गर्दा ४८ हजार १ सय ३३ पशु मरेका छन्।

    पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार हालसम्म संक्रमित १० लाख ५४ हजार ५५ पशु छन्।

    यसमध्ये ७ लाख ६८ हजार ६४१ निको भइसकेको विभागको दाबी छ। तर, अझै २ लाख ३७ हजार २ सय ८१ पशु सक्रिय संक्रमित छन्। ३ लाख १ हजार २ सय ४६ पशुमा खोप लगाइसकेको सूचना अधिकारी डा. ढकालले जानकारी दिए। तर, संक्रमण संख्या भने अझै बढ्दै गएको तथ्यांकमा देखिन्छ।

    नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो। तर, अहिले यसले बिकराल रूप लिएर मुलुकभर आतंक मच्चिएको छ। पछिल्लो समय देशभर ७६ जिल्लाका गाईभैंसीमा यो रोग पुष्टि भएको छ। यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका छन्।

    यो रोगको महामारी नियन्त्रणका लागि पशुसेवा विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीयतहमा कार्यरत पशु स्वास्थ्यकर्मीहरू परिचालित रहेको विभागको भनाइ छ।