कर्मचारीहरूको प्रश्न- हामीलाई धम्की दिनेलाई कहिले कारबाही गर्ने? - Chaitanya News
  • 2026-11-17
  • 20:51:46
  • मंगलबार,मंसिर ०२, २०८३
  • कर्मचारीहरूको प्रश्न- हामीलाई धम्की दिनेलाई कहिले कारबाही गर्ने?

    कर्मचारीहरूको प्रश्न- हामीलाई धम्की दिनेलाई कहिले कारबाही गर्ने?

    पाल्पा- पाल्पाको माथागढी गाउँपालिकाको लेखा शाखामा गत असार २७ गते भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीले माग गरेका छन्।

    जिल्लाका नौवटै स्थानीय तहका आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति निकालेर कार्यस्थलमा आफूहरू असुरक्षित हुनुपरेको उल्लेख गरेका छन्। साथै जनप्रतिनिधिसमेतले समस्या निराकरणका लागि प्रभावकारी भूमिका नखेल्दा स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारी त्रसित र असुरक्षित भएको उनीहरूको भनाइ छ।

    विज्ञप्तिमा कार्यसम्पादन गरिरहेका कर्मचारीलाई धम्क्याउने, बन्दी गराउने, ज्यानसमेत लिन उद्धत हुनेसम्मको अमानवीय र अमर्यादित क्रियाकलापप्रति खेद व्यक्त गरिएको छ।

    असार २७ गते माथागढी गाउँपालिका लेखा शाखामा उपभोक्ता र ठेक्कामा लागेका योजनाका सेवाग्राहीले कर्मचारीलाई धम्क्याउने, आक्रमण प्रयास गर्ने गरेका थिए।