अब ठूला बीमा कम्पनीहरुले लघुबीमा नगरी सुख छैन : राजुरमण पौडेल - Chaitanya News
  • 2026-04-18
  • 13:03:12
  • शनिबार,बैशाख ०५, २०८३
  • अब ठूला बीमा कम्पनीहरुले लघुबीमा नगरी सुख छैन : राजुरमण पौडेल

    अब ठूला बीमा कम्पनीहरुले लघुबीमा नगरी सुख छैन : राजुरमण पौडेल

    काठमाडौं– बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब ठूला बीमा कम्पनीहरुले लघुबीमा नगरी सुख नहुने बताएका छन् ।
    उनले बीमा बजारमा स्वस्थ प्रतिस्पर्धाको अभाव भएकाले नै लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिइएको जिकिर गर्दै यस्ता बीमा कम्पनी भाटभटेनी सुपरमार्केट जस्तै चल्ने दावी गरे।

    नेपाली समाजमा लघुबीमाको माग धेरै रहेकाले नयाँ बीमा कम्पनीहरु चल्न समस्या नहुने पौडेलको भनाई छ। उनले भने, ‘लघुबीमा कम्पनी आएपछिको बीमा बजारमा स–साना किसिमका बीमा बढ्छ। गरिबलाई थप गरिब हुन दिँदैन । हामीले पहिलेदेखि नै भनेको लघुबीमाको मुख्य उद्देश्य आर्थिक अवस्था कमजोर भएका मानिसलाई पनि बचाउँछ भन्ने हो । नेपाली समाजको आवश्यकता नै लघुबीमा हो। अब यो त भाटभटेनी चल्या जस्तै चल्छ।’

    ठूला कम्पनीहरु पनि तल्लो तहमा पुग्ने

    लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला बीमा कम्पनीहरु पनि तल्लो तहमा पुग्ने र स–साना बीमा गराउने पौडेलको विश्वास छ। उनले ग्रामीण क्षेत्रमा ठूला बीमा कम्पनीहरु पुग्न नसकेको बताउँदै लघुबीमा कम्पनीहरु आएसँगै ठूला बीमा कम्पनीहरु पनि सक्रिय हुने बताए।

    पौडेलले ठूला बीमा गराउँदा धेरै नाफा आर्जन हुने र साना किसिमका बीमा गराउँदा थोरै नाफा आर्जन हुने भएका अहिले बीमा कम्पनीहरुले लघुबीमालाई महत्व नदिएको बताए। उनले बीमा भनेको सेवा र व्यवसाय दुवैमा केन्द्रित हुने भएकाले लघुबीमालाई आफूहरुले प्राथमिकता दिएको बताए।

    पौडेलले एकै पटक धेरै कमाउन लघुबीमा उपयुक्त नभए पनि धेरै संख्यामा लघुबीमा गराउन सके त्यसबाट पनि नाफा आर्जन हुने बताए। नेपालमा लघुबीमा प्राथमिकतामा नपरे पनि अन्तर्राष्ट्रियस्तरमा भने यसको ठूलो महत्व रहेको उनले बताए।

    हाल नेपालमा रहेका बीमा कम्पनीहरुका कार्यालय शहर केन्द्रित रहेकाले नै लघुबीमा ओझेलमा परेको भन्दै पौडेलले नयाँ लघुबीमा कम्पनी बजारमा आएसँगै बीमाको दायरा अझ फराकिलो हुने बताए। बीमा गराउँदा शहरको गराउने, गाउँको नगराउने र ठूला बीमा गर्ने, साना नगर्ने प्रवृत्ति गलत रहेको उनले बताए।

    पौडेलले भने, ‘बीमा गर्दा पनि गाउँमा नजाने शहरमै केन्द्रीत हुने अनि ठूला बीमा खोज्दै सानालाई आँखै नलाउने प्रवृत्ति त ठिक भएन नि। अब हामीले त्यस्तो प्रवृतिमा सुधार होस् र गरिबहरुले पनि बीमाबाट लाभ लिएको खबर सुन्न पाइयोस भनेर लघुबीमा कम्पनी ल्याउने निर्णय गरेका हौं।’

    लघुबीमाको पनि बजारीकरण समस्या नसक्ने हल्ला चलेको बेला सानो रकमको बीमा नै नेपाली समाजको आवश्यकता रहेको र यो भाटभटेनी जस्तै चल्ने बताएका छन् । लघुबीमा कम्पनीका लागि बीमा समितिमा ३१ वटा आवेदन परेको छ भने समितिले जम्मा सात वटा कम्पनीलाई लाइसेन्स दिने पौडेलले बताए । लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपियाँ तोकिएको उनले बताए ।