पोखरामा ४० वर्ष पुरानै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै - Chaitanya News
  • 2026-04-18
  • 13:05:00
  • शनिबार,बैशाख ०५, २०८३
  • पोखरामा ४० वर्ष पुरानै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै

    पोखरामा ४० वर्ष पुरानै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै

    पोखरा–  पोखरामा यही २८ गतेदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिताको तयारी चलिरहे पनि भौतिक संरचनाहरूको स्तर भने निकै कमजोर देखिएको छ।

    खेलकुद प्रतियोगिता हुन केही दिन मात्र बाँकी हुँदा प्रतियोगिताका लागि आवश्यक भौतिक संरचनाले पूर्णता पाएका छैनन्। पार्टी प्यालेसदेखि लिएर होटलको स्वीमिङ पुलमा समेत प्रतियोगिता गर्ने योजना छ।

    त्यस्तै टेबल टेनिस, उसु, कबड्डीजस्ता खेलका लागि पनि संरचनाहरू कमजोर छन्। २०४० सालमा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रयोग भएका संरचनाहरू अहिलेको खेलकुद प्रतियोगितामा पनि प्रयोग भइरहेको तत्कालीन समयका आयोजक समितिका सदस्यको भनाइ छ।

    हरेक राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश संरचनामा जानुको एउटा मुख्य कारण भौतिक संरचना पनि हो। भौतिक संरचनाको विषयमा यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि चर्चा चलेको थियो । त्यतिबेला अन्तिम समयसम्म भीआईपी प्यारापिट नबन्दा राखेपको आलोचना भएको थियो।

    ‘पहिलो पटक पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो। प्रतियोगिताका लागि सबै खेलाडीहरू उत्साहित थिए। हामी पनि उत्साहित थियौँ,’ गुरुङले त्यतिबेलाको स्मरण गर्दै भने, ‘पोखरावासीका लागि नै उक्त प्रतियोगिता विशेष थियो। राजाको सहभागिता हुँदा झनै विशेष बनाइदियो।’

    अहिले पनि फुटबल र क्रिकेटका लागि तयार पारिएको संरचनाहरू पूर्ण रूपमा बनिसकेका छैनन्। महिला क्रिकेट आयोजना हुने ठाउँको आउट फिल्ड चिप्लिने अवस्थाको छ। त्यस्तै पिच मर्मतको काम केही हदसम्म पूरा भएको पिच अप्रेटरहरुले बताए।

    टेबल टेनिसका लागि तीन टेबल राखेर खेलाउने तयारी प्रदेश खेलकुद परिषद्ले गरेको छ। दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक खेमबहादुर गुरुङले त्यो समयमा रहेका भौतिक संरचनाले नै अहिले काम चलिरहेको बताए।