काठमाडौं – वैदेशिक राेजगार व्यवसायीले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीकाे राजीनामा माग गर्दै कालिकास्थानस्थित अध्यागमन विभाग घेराउ गरेका छन् ।
संघकाे नेतृत्वमा भएकाे घेराउ कार्यक्रममा बिना कारण वैदेशिक राेजगारमा जाने कामदार राेक्न नपाउने भन्दै यसअघि राेकिएका कामदारको हवाई टिकटलगायतमा भएकाे क्षतिकाे अध्यागमन विभागले क्षतिपूर्ति दिनुपर्ने व्यवसायीहरुले माग गरेका छन् ।
व्यवसायीले बदनियतले काम गर्ने अध्यागमन कर्मचारीलाई कारबाहीकाे मागसमेत गरेका छन् । व्यवसायीले महानिर्देशक अधिकारीले भिजिट भिसालाई बढवा दिएर श्रम स्वीकृति लिएर जान लगेका विपन्न अवस्थामा रहेका महिलाहरूलाई राेकेकाे भन्दै नाराबाजी गरेका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागतरुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगयतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेका कारणले महानिर्देशक अधिकारीकाे राजीनामा माग्न बाध्य भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
अध्यागमनले बिना कारण श्रम स्वीकृति लिएका कामदार फर्काउँदा व्यवसाय गर्न समस्या भएकाे संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक राेजगारका लागि कुवेत जान लागेका ३७ जना कामदारलाई शुक्रबार राति पनि फर्काएकाे छ । असार १७ र २८ गते कुवेत जानेक्रममा विमानस्थल अध्यागमनबाट फर्काइएकाहरुलाई व्यवसायीले टिकट काटेर पुनः वैदेशिक राेजगारमा पठाएकोमा विमानस्थल अध्यागमन कार्यलयले फर्काएका थियो ।
उनीहरु सलाम एयर, जजिरा एयर र कुवेत एयरलाइन्सबाट जाने तयारीमा थिए। उनीहरूलाई वैदेशिक राेजगारमा कुवेत पठाउन नीलकमल ह्युमन रिसाेर्सले श्रम स्वीकृति लिएको थियो ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएका कामदार पुनः फर्काउन अध्यागमन विभागका महानिर्देशक अधिकारीले निर्देशन दिएको बताए । अध्यक्ष भण्डारीले महानिर्देशक अधिकारीको निर्देशमा बदनियत देखिएकाे पनि बताएका छन् ।
अध्यागमन कार्यालय भटाभट कामदार फर्काउँदा एयरलाइन्स कम्पनीहरूले कामदारको टिकट काट्न छाेडेकाे र विदेशस्थित राेजगारदाताहरूले नेपाली कामदार लैजाँदा झन्झट व्यहोर्नुपरेको तथा आर्थिक लगानी खेर गएकाले अन्य मुलुकबाट कामदार लैजाने विकल्प खाेज्न थालेको बताइएकाे छ।
संघले शुक्रबार मात्रै पत्रकार सम्मेलन गरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई बदनियतले राेक्ने अध्यागमन कर्मचारीहरूमाथि छानबिन र कारबाहीकाे दायरामा ल्याउन सरकारसँग माग गरेको थियो ।