शिक्षिकाद्वारा जन्म दिनमा बृक्षारोपण तथा कलाकार कोषलाई रकम हस्तान्तरण - Chaitanya News
  • 2026-11-17
  • 19:50:40
  • मंगलबार,मंसिर ०२, २०८३
  • शिक्षिकाद्वारा जन्म दिनमा बृक्षारोपण तथा कलाकार कोषलाई रकम हस्तान्तरण

    शिक्षिकाद्वारा जन्म दिनमा बृक्षारोपण तथा कलाकार कोषलाई रकम हस्तान्तरण

    धनगढी- कैलालीको दुर्गम मोहन्याल गाउँपालिका-५ धमकोटमा अध्यापनरत एक शिक्षिकाले आफ्नो जन्म दिनमा बृक्षारोपण र कलाकार कल्याणकारी कोषलाई रकम हस्तान्तरण गरेकी छन्।

    मोहन्याल गाउँपालिका वडा नम्बर ५ मा रहेको धमकोट आधारभूत विद्यालयमा अध्यापन गराइरहेकी शिक्षिका यशोदा बम देउवाले शनिबार आफ्नो जन्म दिनको अवसरमा विद्यालय परिसरमा बृक्षारोपण गर्नुका साथै डेउडा प्रतिष्ठानले सुरु गरेको कलाकार कल्याणकारी कोषमा ३ हजार ३ सय ३३ रुपैयाँ हस्तान्तरण गरेकी हुन्। जन्म दिनमा केक काटेर अन्य फजुल खर्च गर्नु भन्दा रचनात्मक क्रियाकलाप र सामाजिक कार्य गरेर जन्म दिन मनाउन पाएकोमा खुसी लागेको उनले बताइन्।

    भाषा, कला, संस्कृतिको संरक्षणसँगै कलाकारहरूको साझा एवम् अभिभावकत्व गर्ने संस्थाको रूपमा स्थापित डेउडा प्रतिष्ठान केन्द्रीय समितीले सुरु गरेको कलाकार कल्याणकारी कोषले कलाकारलाई गाह्रो अफ्ट्यारो पर्दा सहारा बन्ने विश्वास रहेकाले सहयोग गरिएको उनलेब ताइन्। कलाकारले आफ्नो जन्म दिन होस् या छोराछोरीका जन्म दिन होस् सो दिनलाई विशेष दिन बनाउन कलाकार कल्याणकारी कोषमा रकम जम्मा गरी यो अभियान सफल बनाउनु पर्ने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए। कल्याणकारी कोषमा १ करोड रकम पुर्‍याउने लक्ष्य लिइएको छ।