काजमा बस्ने डाक्टरलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत - Chaitanya News
  • 2026-11-17
  • 19:10:16
  • मंगलबार,मंसिर ०२, २०८३
  • काजमा बस्ने डाक्टरलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत

    काजमा बस्ने डाक्टरलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो :  स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौं- स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् ।

    बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले दरबन्दी बाहिर जिल्लामा हुने तर, स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्न जोखिम रहेको उल्लखे गरे ।

    मन्त्री बस्नेतले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए । उनले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पारलगाएरै छोड्ने बताए। उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाए ।

    स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्‍याएर नै छोड्ने बताए। उनले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए । उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको पनि बताए ।

    मन्त्री बस्नेतले सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए । दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरु आएको उनले भनाइ रहेको थियो ।