मनाङ एयर हेलिकप्टर दुर्घटना अपडेट: चालकसहित ६ जनाकै मृत्यु - Chaitanya News
  • 2026-11-17
  • 17:56:59
  • मंगलबार,मंसिर ०२, २०८३
  • मनाङ एयर हेलिकप्टर दुर्घटना अपडेट: चालकसहित ६ जनाकै मृत्यु

    मनाङ एयर हेलिकप्टर दुर्घटना अपडेट: चालकसहित ६ जनाकै मृत्यु

    काठमाडौँ — सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका क्याप्टेनसहित ६ जनाकै मृत्यु भएको छ। मंगलबार काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको थिए।

    लुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरे।

    मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

    प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई र आफू हेलिकप्टरमार्फत दुर्घटनास्थल जान खोजे पनि मौसमको खराबीका कारण अवतरण हुन नसकेको उनले बताए। उनले भने, दुर्घटनामा ६ जनाकै मृत्यु भएको छ। सीडीओ सर र म दुर्घटनास्थलमा जान खोजेका थियौँ। तर खराब मौसमका कारण हेलिकप्टर तल लिखुपिके गाउँपालिका वडा नम्बर ५ मै अवतरण गरिएको छ। उनका अनुसार दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ। खराब मौसमका अनुसार शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए।

    प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जिल्ला सदरमुकाम सल्लेरीबाट नेपाल प्रहरी र नेपाली सेनाबाट थप २१ जना गाडीबाट दुर्घटनास्थल पठाइएको बताए।

    मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका(५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ।

    हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।