सोलुखुम्बु- सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव फेला परेको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिए।
दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको र एक जनाको खोजी भइरहेको उनको भनाइ छ। मृतकको पहिचान खुलिसकेको छैन भने थप विवरण आउन बाँकी रहेको छ।
हेलिकोप्टर दुर्घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नीराजन बस्नेत नेतृत्वको टोली पुगेको छ। १२ जना नेपाल प्रहरी र नौ जना नेपाली सेनालाई घटनास्थल पठाइएको उनले बताए।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले लिखु पिके गाउँपालिका –५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको जानकारी दिइन्।
हेलिकोप्टरमा सवार चालक दलका सदस्यबाहेक पाँच जना म्याक्सिकन नागरिक भएको पुष्टि भएको छ। क्याप्टेन चेत गुरुङले उडाएको हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार,सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक थिए।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो।