काठमाडौं- विश्व जनसंख्या दिवस नेपालमा आज पनि मनाइँदैछ। संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ।
दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछ। विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलाई युवा मानिन्छ।
सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस मनाउन थालिएको हो। सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो।
पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसङ्ख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको थियो। सन् २०२३ को जनसङ्ख्या दिवसमा आइपुग्दा पछिल्लो १२ वर्षमै एक अर्ब जनसङ्ख्या थपिएको छ। यससँगै संसारको जनसङ्ख्या आठ अर्ब पुगेको पनि भर्खरै घोषणा गरिएको थियो। विश्व जनसङ्ख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या प्रतिवेदन अनुसार‚ १५ नोभेम्बर सन् २०२२ मा संसारको जनसङ्ख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो।
यस प्रतिवेदनले सन् २०२३ मा संसारको सर्वाधिक जनसङ्ख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ। यसअघि चीनमा संसारकै धेरै मान्छे थिए। चीनभन्दा भारतको जनसङ्ख्या वृद्धिदर धेरै भएपछि भारत सबैभन्दा धेरै जनसङ्ख्या हुने मुलुकको पहिलो स्थानमा उक्लिन लागेको हो। राष्ट्रसङ्घले सन् २०३० मा विश्वको जनसङ्ख्या आठ अर्ब ५० करोड हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ। त्यसै गरी सन् २०५० मा विश्वको जनसङ्ख्या नौ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ। सन् २०८० मा १० अर्ब ४० करोड पुग्ने र सन् २१०० सम्म कायम रहने अनुमान छ।
जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती?
जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद सुरु हुन थालेको छ। बि.सं. २०५६ सालमा तत्कालीन श्री ५ को सरकारले विद्यालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसङ्ख्या वृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्ये धेरैलाई पढाइएको पनि छ।
तर सधैँ जनसङ्ख्या वृद्धि नकारात्मक पनि हुँदैन, अहिले विश्वका विकसित भन्दा विकसित मुलुकहरूमा आफ्नो खस्कँदो जनसङ्ख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरू बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रवर्तनमा लागेकाले यसो भएको हो।
जनसङ्ख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयुक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा छ तथापि विकास अनि समृद्धि कालागि चाहिने जनशक्तिको पूर्णता पनि जनसङ्ख्याले नै गर्ने त हो। एउटा सन्तुलित जनसङ्ख्या वेगैर कुनै पनि देशको सुरक्षा, विकास दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न।