काठमाडौं– संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं अभिनेता हरिहर शर्माले कलाका सबै विधालाई एकीकृत गर्नु जरुरी रहेको बताएका छन्।
म्युजिक भिडियो निर्देशक समाजले काठमाडौंमा आयोजना गरेको दशैं शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले उक्त कुरा बता । म्युजिक भिडियोको महत्व दर्शाउँदै यसको गाम्भीर्यतालाई मनन गर्नुपर्ने उनले बताए।
शर्माले भने, ‘प्रस्तुति कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्ने हो, यसमा जुन जुन विधाहरु छन् सामूहिक रुपमा काम गर्नुपर्छ। यी सबै एक अर्कामा अन्योन्याश्रित छन्। अलग अलग बाटो हिंड्यो भने स्थायित्व पाउन असम्भव हुन्छ।’
उनले अगाडि भने, ‘सानो होस् या ठूलो फिल्म होस्। म्युजिक भिडियो होस् यी सबैको उत्तिकै महत्व छ। यदि हामीले फिल्मबाट गीतलाई अलग्गै निकाल्ने हो भने त्यो गीतलाई म्युजिक भिडियोको रुपमा हेर्न सकिन्छ। तसर्थ हामीले यसबारेमा गम्भीर भएर सोच्नुपर्छ।’
कार्यक्रममा म्युजिक भिडियो निर्देशकद्वय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई सम्मान प्रदान गरियो। निर्देशक नारायण रायमाझी, डिजिटल प्रवद्र्धक ओमप्रकाश अग्रवाल, कोरियोग्राफर शिव विक र प्रेस सल्लाहकार जीवन पराजुलीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
समाजका अध्यक्ष विधान कार्कीले संस्थाको महत्व र आवश्यकताबारे प्रष्ट्याएका थिए। नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनीहरुको हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको उनले बताए।