अमेरिकी सहायकमन्त्री एलिजाबेथ ट्रुडो दुईदिने नेपाल भ्रमणमा आउँदै - Chaitanya News
  • 2026-04-18
  • 11:52:25
  • शनिबार,बैशाख ०५, २०८३
  • अमेरिकी सहायकमन्त्री एलिजाबेथ ट्रुडो दुईदिने नेपाल भ्रमणमा आउँदै

    अमेरिकी सहायकमन्त्री एलिजाबेथ ट्रुडो दुईदिने नेपाल भ्रमणमा आउँदै

    काठमाडौं– अमेरिकी सार्वजनिक मामिलासम्बन्धी कार्यवहाक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छिन्। नेपालमा दुई दिनसहित १२ दिन लामो यात्रामा उनले यूएई, उब्जेकिस्तान र कीर्गिज रिपब्लिकको भ्रमण गर्नेछिन्।

    विश्वव्यापी सार्वजनिक मामिला हेर्ने ट्रुडो चीनका सभामुख ली चान्सु फर्केको दुई हप्तामै नेपाल भ्रमणमा आउन लागेकी हुन्। उनको भ्रमणलाई कूटनीतिक मामिलाका जानकारहरूले अर्थपूर्ण रूपमा हेरेका छन्।

    अमेरिकी विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ट्रुडोको नेपाल भ्रमणबारे जानकारी दिएको हो।

    ट्रुडोले सरकारी अधिकारीहरू, नागरिक समाज, प्रभावशाली व्यक्तित्व, विद्यार्थी र अमेरिकी सार्वजनिक कूटनीति क्षेत्रका व्यक्तित्वहरूसँग भेट गर्ने कार्यतालिका छ। उनले विगतमा अमेरिकी दूतावासको प्रायोजनमा अमेरिकाको भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्ने बताइएको छ।

    नेपाल बसाइँमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गर्दै आएका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ। उनको भ्रमण क्रममा नेपालमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम भने नरहेको बताइएको छ।