मकवानपुरमा दुई ट्रक जुध्दा आगलागी : तीन जनाको मृत्यु, दुई घाइतेको उपचार हुँदै - Chaitanya News
  • 2026-11-17
  • 17:01:32
  • मंगलबार,मंसिर ०२, २०८३
  • मकवानपुरमा दुई ट्रक जुध्दा आगलागी : तीन जनाको मृत्यु, दुई घाइतेको उपचार हुँदै

    मकवानपुरमा दुई ट्रक जुध्दा आगलागी : तीन जनाको मृत्यु, दुई घाइतेको उपचार हुँदै

    मकवानपुर –  मकवानपुरको मनहरी–३ नयाँबस्ती डिपाट गाउँमा दुई वटा ट्रक एकापसमा ठोक्किँएर आगलागी हुँदा जलेर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार जलेर ज्यान गुमाउनेमा चितवनको राप्ती नगरपालिका–८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका–२ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र मकवानपुरको मनहरी–३ बस्ने २० वर्षीय अमृत प्रजा रहेका छन् ।

    शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ । ट्रकको आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर दुवै ट्रकमा आगलागी भएको थियो ।

    प्रहरीका अनुसार ट्रकमा सवार चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएका छन् । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।