काठमाडौं- काठमाडौंको शंखमुलस्थित चैतन्य एकेडेमीले एक विशेष समारोहबीच लोकसेवा आयोगबाट स्टाफ नर्समा सिफारिस भएकाहरूलाई बधाई ज्ञापन गरेको छ। शुक्रबार एकेडेमीले स्टाफ नर्समा सिफारिस उम्मेद्वारहरूलाई बधाई ज्ञापन गरेको हो।
चैतन्य ग्रुपमा सिइओ गणेश प्रसाद जोशीले कडा मिहिनेतका कारण स्टाफ नर्समा सिफारिस नर्सहरू बधाईका पात्र भएको बताएका थिए। ‘बधाई तथा शुभकामनाको हकदार सफल मानिसहरूमात्रै हुने गर्छन्। कडा मिहिनेतले तपाईंहरू सफल हुनु भएको छ। तपाईंहरूलाई बधाई,’ जोशीले भने। आफू जस्तो पीडामा भए पनि अरूको दुखिरहेको घाउमा मुस्कानका साथ मलम लगाउने सत्कर्म नर्सहरूले गर्दै आएको उनले स्मरण गरे।
नर्सहरूको निकै पवित्र पेसा भएको जोशीले बताए। नर्सहरूको स्नेहले एक बिरामी व्यक्तिले पुनर्जिवन पाउने उनको भनाइ थियो।
उनीहरूलाई नर्स सम्बन्धी तयारी कक्षामा प्रशिक्षण दिँदै आएकी लक्ष्मी पौडेलले कडा मिहिनेतका साथ उत्तीर्ण हुन सफल भएकोमा सबैलाई बधाई ज्ञापन गरेकी थिइन्।
‘हामीले त बाटो मात्रै देखाउने प्रयास गरेका हौं। मिहिनेत तपाईंहरूको नै हो। यसरी आफूले पढाएका विद्यार्थी एक नम्बर दुई नम्बरमा नाम निकाल्दै ठूलो सङ्ख्यामा उत्तीर्ण भएको देख्दा खुसी लागेको छ’, उनले भनिन्। अन्य कुनै जानकारी आवश्यक भए आगामी दिनमा पनि आफ्नो पूर्ण साथ रहने उनले बताइन्।
त्यस्तै कार्यक्रममा सहभागी नर्स अलिशा ढकालले चैतन्यसँगको सहकार्यले आफूलाई ठूलो सफलता प्राप्त भएको बताएकी थिइन्। दुर्गा विष्टले पनि लक्ष्मी पौडेलको गाइडेन्स र चैतन्यसँगको सहयात्राले नै आफू सफल भएको बताउँदै खुसी व्यक्त गरेकी थिइन्। कार्यक्रमका अन्य सहभागीहरूले पनि चैतन्य र प्रशिक्षक पौडेलप्रति आभार व्यक्त गरेका थिए।
![]()