काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक-पटक दिल्ली गएको भनि अभिव्यक्ति दिनु उन्कै गल्ती भएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको आरोप छ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै शर्माले प्रधानमन्त्री जस्तो व्यक्तिले के बोल्ने भन्ने हेक्का नराख्नु उन्कै गल्ती भएको बताएका हुन्।
‘गल्ती प्रधानमन्त्रीकै हो! नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो। मित्र रास्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलत प्रधानमन्त्रीकै हो। आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो,’ उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ। सत्तारूढले नै प्रश्न गरेका छौं। प्रतिपक्षको त मूल कर्तव्यनै हो!’