करिब एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक - Chaitanya News
  • 2026-11-17
  • 16:37:42
  • मंगलबार,मंसिर ०२, २०८३
  • करिब एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    करिब एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। आज मध्यान्ह कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारी बैठकले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो।

    असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए। कांग्रेसले करिब एक वर्षपछि बैठक बोलाउन लागेको हो।

    आजको सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच भएको छलफलले भोलि बोलाइएको जिल्ला सभापतिको भेलाको एजेण्डा तय गरेका छ।

    पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल हुने भएको छ। उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफल हुने बताए।

    कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ। क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ।