काठमाडौं- बैकुण्ठ अर्याल मुख्य सचिवमा बढुवा भएर रिक्त भएको सचिव पदमा बढुवा समितिले सहसचिव लक्ष्मीकुमारी बस्नेतसहित तीनजनालाई सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेको छ।
लोकसेवा आयोगका अध्यक्ष अध्यक्ष रहने सचिव बढुवा समितिको हिजो बसेको बैठकले दोस्रो नम्बरमा प्रशासनकै दिनेशकुमार घिमिरे र तेस्रो नम्बरमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सिफारिस गरेको आयोग स्रोतले जानकारी दियो।
बढुवा समितिले एक सचिव पद रिक्त हुँदा तीनजनाको सिफारिस गर्ने प्रावधान छ। तीनमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले निर्णय गरी नियुक्त गर्छ। मन्त्रिपरिषद् बैठक आजै बस्दैछ।
पाँच सदस्यीय बढ्वा समितिमा लोकसेवा आयोगका सदस्य, मुख्य सचिव, सामान्य प्रशासनका सचिव सदस्य सचिव र एक जना विशेषज्ञ रहन्छन्।
अवकाश पाउनै लागेको घडीमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई मुख्य सचिवमा बढुवा गरेको थियो। त्यतिखेरका मुख्य सचिव शंकरदास बैरागीलाई भने हुँदै नभएको पद सिर्जना गरी सुरक्षा परिषद्मा सल्लाहकारमा नियुक्त गरेको थियो।