देशभरका सात अस्पतालमा २०२८ जनरल बेड निःशुल्क - Chaitanya News
  • 2026-05-03
  • 00:52:53
  • शनिबार,बैशाख १९, २०८३
  • देशभरका सात अस्पतालमा २०२८ जनरल बेड निःशुल्क

    देशभरका सात अस्पतालमा २०२८ जनरल बेड निःशुल्क

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि देशभरका विभिन्न अस्पतालमा २०२८ वटा शय्या (बेड) गरिब, असहाय र अशक्तहरुका लागि निःशुल्क दिने भएको छ।

    बिहीबारदेखि कान्ति बाल अस्पतालले २४८ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६० शय्या, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शय्या, राष्ट्रिय ट्रमा सेन्टरले १५० र शहीद गंगालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय भएको छ। यसअघि, वीर अस्पतालले ७०० शय्या र कोशी अस्पतालले ३३० शय्या विपन्नका लागि निःशुल्क गरी सेवा दिइरहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    तर, सरकारी अस्पतालका क्याबिन र आईसीयू श्यामा भने शुल्क लाग्नेछ।

    मन्त्रालयका अनुसार अस्पतालका निर्देशक र मन्त्रालयका अधिकारीहरुको दुई चरणको छलफलबाट शय्या निशुल्क गर्ने निर्णय भएको हो। अस्पताल निर्देशकले निःशुल्क बेड उपलब्ध गराउन केही आन्तरिक स्रोत बढाउने र नपुगेको आर्थिक स्रोतको सुनिश्चिता मन्त्रालय मार्फत सहयोग गर्नुपर्ने तर्क राखेका थिए।

    स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अस्पताल निर्देशकहरुले राखेको कुरामा सहमति जनाएका थिए। बस्नेतले देशभरका अस्पतालको जनरल बेड निशुल्क गर्दै जाने बताएका छन्।

    ‘अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्न केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले ब्यहोर्छ’, मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुसँग भने, ‘स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन मिल्दैन। सबै अस्पतालहरुको स्तरोन्नतिदेखि सबैको उपचारमा पहुँच योग्य बनाउने पहिलो प्राथमिकता हो।

    उनले सुर्तिजन्य पदार्थमा लगाएको करबाट राज्यले ६ अर्ब राजश्व उठाएको र उक्त रकम स्वास्थ्य क्षेत्रमै लगानी गर्नुपर्ने नियम भएतापनि त्यसअनुसारको काम नभएको बताए।

    ‘स्वास्थ्य मन्त्रालयले ६ अर्बबाट मात्रै ४० करोड रुपैयाँ पाएको छ। सुर्तिजन्य पदार्थमा लगाएको करबाट उठेको अधिंकाश रकम स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ। विपन्न वर्गका उपचार सरकाले निःशुल्क रुपमा गर्नुपर्छ,’ मन्त्री बस्नेतले भने।