काठमाडौं– नेपाल मलेसियामा जारी एसीसी यू–१६ इस्ट रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको बाँगीमा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।
पहिलो जितसँगै नेपाल सेमिफाइनलमा पुग्दा थाइल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो। जितका लागि नेपालले दिएको दुई सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा सबै विकेटको क्षतिमा ४४ रनमा समेटिएको थियो।
थाइल्यान्डका इशान बेर्नोजीले १६ र ओपनर डानुफोनले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेन। थाइल्यान्डका सात जना खेलाडी शून्य रनमा आउट भएका थिए।
थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्तोष यादवले पाँच विकेट लिए। अशोक धामीले तीन तथा कप्तान अभिसेक तिवारीले दुई विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ६९ रन बनाएको थियो।
नेपालका लागि नीरजकुमार यादव र नरेन भट्टले अर्धसतकीय इनिङ्स खेले। निजले ७४ र नरेनले अविजित ५५ रन बनाए। सन्तोष यादवले ४२ र सूर्याम्सु कोइरालाले ४० रन बनाए। बलिङमा थाइल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले दुई दुई विकेट लिए। जित साद र पियावत नोद्रीले एक एक विकेट झारे।
प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो। यस समूहमा नेपालसहित आयोजक मलेसिया र थाइल्यान्ड रहेको छ।
समूह ‘बी’मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेका छन्। समूहको शीर्ष दुर्य टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले समूहको दोस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ।