काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आगामी आर्थिक वर्षमा ५० विद्यालयमा ‘सिक्दै, कमाउँदै कार्यक्रम’ विस्तार गर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पढाइसँगै सीप सिकाउन यो कार्यक्रम विस्तार गर्ने बताएका हुन्।
उनले भने, ‘विद्यार्थीहरूमा श्रमप्रतिको जागृत भावना गराई व्यवसायप्रति सिक्दै कमाउँदै कार्यक्रम अहिले २४० विद्यालयमा सञ्चालन भइरहेको छ। आगामी वर्ष थप ५० विद्यालयमा विस्तार गर्ने योजना छ’‚ उनले भने।
यसैगरी उनले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि सकार प्रतिबद्ध रहेको बताए। ‘उच्च शिक्षा सुधारमा जोड दिइएको छ। सबै वर्ग क्षेत्र र अवस्थाका बालबालिकाको शिक्षामा सुनिश्चतता गर्ने, छात्रवृत्ति वितरण, समतामूलक पहुँचमा ल्याउन जोड दिइएको छ। मन्त्रालयको लक्ष्य नै शैक्षिक सुधार गर्ने, शिक्षण सिकाइ सुधार्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने हो’‚ उनले भने।
उनले अहिले आन्दोलनरत विद्यालय कर्मचारीहरूको मागको सम्बोधन गर्न सरकारले वार्तामार्फत पहल गरिरहेको बताए।