बजेट असन्तुलित भयो, सांसदलाई खुसी बनाउन सकिएन : मन्त्री किराँती - Chaitanya News
  • 2026-05-02
  • 19:58:44
  • शनिबार,बैशाख १९, २०८३
  • बजेट असन्तुलित भयो, सांसदलाई खुसी बनाउन सकिएन : मन्त्री किराँती

    बजेट असन्तुलित भयो, सांसदलाई खुसी बनाउन सकिएन : मन्त्री किराँती

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०–८१ को बजेट असन्तुलित भएको बताएका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०–८१ को बजेट असन्तुलित हुन गएको बताएका हुन्। उनले बजेट असन्तुलित भएकोमा माफी समेत मागे।

    मन्त्री किराँतीले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताए। उनले सांसदहरुलाई खुसी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए।

    मन्त्री किराँतीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताए। त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे।

    उनले भने,‘स्वाभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ। त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थि छु। माननीय सांसदहरुको मागलाई हामीले लिपिबद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ। त्यहाँ पनि बजेटको सीमाले योजनाहरु पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला। बजेको सीमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो।

    मन्त्री किराँतीले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानबिन गरिएको छ बताए। उनले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए। उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पारे।