अनशनरत डा. केसीलाई काठमाडौं ल्याउने तयारी - Chaitanya News
  • 2026-04-17
  • 21:56:15
  • शुक्रबार,बैशाख ०४, २०८३
  • अनशनरत डा. केसीलाई काठमाडौं ल्याउने तयारी

    अनशनरत डा. केसीलाई काठमाडौं ल्याउने तयारी

    धनगढी- कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। चिकित्सा क्षेत्रको सुधार माग गर्दै अनशनरत केसीमा कडा खालको अल्सरको समस्या देखिएपछि काठमाडौं पठाउने तयारी गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

    सेती प्रादेशिक अस्पतालले डा. केसीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सुभाव दिएपछि काठमाडौं पठाउने तयारी गरेको उनले बताए। डाक्टर केसीले भने काठमाडौं जान मानेका छैनन्। अहिले सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। डा. केसीलाई मनाएर केहीबेरमा काठमाडौं पठाउने तयारी थालिएको उनले बताए।

    केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शङ्का भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले सुविधा सम्पन्न अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताए।

    यसैबीच धनगढीमा अनशनरत डा. गोनिन्द केसी र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको छ। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सहभागी छन् भने नेपाल चिकित्सक सङ्घका तर्फबाट डा. अनिलविक्रम कार्की, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओमप्रकाश अर्याल र डा. विष्णु पोखरेल सहभागी हुन्छन्।

    डा. केसीले सात बुँदे माग राखेर भदौ २७ गतेदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशन सुरु गरेका हुन्।