काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यबद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमबार साँझदेखि धर्नामा बसेका छन्। धर्नास्थलमा वैशाखी टेकेर पुगेका उनले ‘घामजस्तै छर्लङ्ग घटनामा न्यायको भीख माग्नु दुःखको कुरा’ भएको बताए।
उपप्राध्यापक चलाउनेले आफू पीडित हो कि होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताए। उनले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताए। चलाउनेले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधेर नै लिइएको बताए।
उनले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरूले राजनीतिकरण गरेको बताए। उपप्राध्यापक चलाउनेले प्राध्यापकमाथि दिनदहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताए।
उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभूति भएको पनि टिप्पणी गरे।