काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रसरतामा समाजवादी मोर्चाको घोषणापछि अनेक टिका टिप्पणी शुरु भएका छन् । सोमबार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा गठन गरेपछि यसलाई अनेक कोणबाट टिप्पणी गरिएको छ ।
मोर्चाको घोषणा सभामा बोल्दै नेताहरुले यो कोहिप्रति लक्षित नभएको स्पष्टीकरण दिइरहेका देखिन्थे । प्रधानमन्त्री समेत रहेका प्रचण्डले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताए । साथै उनले यो वैज्ञानिक र परिवर्तनको मार्ग भएको मात्र बताएनन् उनले देशलाई सामाजिक न्याय, सुशासन र समृद्धितर्फ लैजाने अभियान भएको समेत बताए ।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैलाई घुर्क्याउन समाजवादी मोर्चा नबनेको बताउदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको स्पष्टिकरण दिए । प्रचण्ड र नेपालले जे भनेपनि उनीहरुका यी तर्क पत्याउने अधार देखिदैन । प्रचण्डले भने जस्तो देशलाई सुशासन र समृद्ध बनाउन मोर्चा किन चाहियो ? अहिले आफ्नै नेतृत्वमा सरकार छ, काम गरेर देखाउन के ले रोकेको छ ? त्यस्तै नेपालले भने जस्तो कांग्रेस-एमालेलाई तर्स्याउन मोर्चा नबनाएको हो भने यसको अन्य उद्धेश्य पुरा हुने नै देखिदैन ।
मोर्चामा सहभागी नगराइएका डा. बाबुराम भट्टराईले मोर्चा बारे गरेको टिप्पणी धेरै हदसम्म सहि देखिन्छ । उनले भनेका छन्- ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो । कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् ! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् !’
सत्ता बार्गेनिंगको हतियार
धेरैले प्रचण्ड र नेपालले समावादी मोर्चा बनाएर सत्ता बार्गेनिंगको हतियार बनाएको रुपमा बुझेका छन् । वर्तमान संसदमा अब मोर्चासँग प्रतिनिधि सभामा ५४ सिट भएको छ । यसरी हेर्दा कांग्रेस र एमालेपछि औपचारिक रुपमा एक पार्टी नभएपनि शक्तिको हिसाबले मोर्चा संसदमा तेस्रो ठुलो शक्ति बनेको छ । यसबाट प्रचण्ड, नेपाल र उपेन्द्र यादवले सत्तामा आफ्नो पकड कायम राखिरहने दाउ हेरेको प्रष्ट देखिन्छ । अहिलेको गठबन्धनमा रहेको प्रमुख दल आन्तरिक विवादको दलदलमा रहेको, काँग्रेससँगको यसअघिको सम्झौता अनुसार उसलाई सत्ता सुम्पिनुपर्ने अवस्था नजिकिदै गरेको, सरकारले ल्याएको बजेटमै सरकारले अपनत्व महसुस नगरेपछि सरकार ढल्नसक्ने गन्ध पाएको आदि इत्यादि कारणले पनि प्रचण्ड मोर्चाको घोषणा गर्न अग्रसर भएको देखिन्छ ।
नेता कार्यकर्ता रोक्ने दबाब
अहिले खासगरी एकीकृत समाजवादीमा नेताहरुलाई पार्टी छोड्नबाट रोक्नुपर्ने चुनौती देखिएको छ । मुकुन्द न्यौपानेसहितका नेता एमालेमा फर्किरहेका छन् भने अन्य नेताहरुलाई पनि एमालेले अफर दिइरहेको छ । यस्तो अवस्थामा आफ्ना नेता कार्यकर्तालाई फकाउन र नयाँ केहि हुदै छ भन्ने विश्वास दिलाउन पनि मोर्चाको घोषणामा हतार गरिएको बुझिएको छ ।
प्रचण्डको महत्वकांक्षा
प्रचण्ड आफु सधै सत्ताको वरपर रहिरहन चाहन्छन् । उनलाई युद्ध अपराधदेखि अन्य सयौं मुद्धा मामिलादेखि धेरै विषयमा अदालतदेखि मिडिया र सामाजिक सञ्जालमा घेराबन्दी रहेको छ । यसबाट बच्न पनि उनी सत्तामै वा सत्ता पक्षमै रहिरहनुपर्ने बाध्यता रहेको छ । त्यसैले पनि उनी जसरी भएपनि सत्तामा रहिरहने वा सत्ता पक्षमा रहने अधारहरु बनाउने प्रयत्नमा रहेको देखिन्छ । मङ्सिर ४ को निर्वाचनपछि केवल ३२ सिट आएर पनि उनी अहिले प्रधानमन्त्री त बनेका छन्, तर यो कति समय टिक्छ भन्ने निश्चित छैन । त्यसैले पनि उनले मोर्चालाई अगाडी ल्याएर आफ्नो सत्ता नजिक रहिरहने अवस्थालाई कायम राख्न खोजेको देखिन्छ ।
खासगरी अहिले एमालेसँग बढेको दूरीका कारण पनि संसद्को अंकगणितमा बलियो हुनुपर्ने निष्कर्षमा प्रचण्ड पुगेको देखिन्छ । अर्को कुरा एकीकृत समाजवादी र एमालेबीच एकीकरण हुनुपर्छ भन्ने जनमत दुवै पार्टीमा ठुलो हुदै गएको छ । एकीकृत समाजवादीका केन्द्रीय नेताहरुनै पार्टी छोडिरहेका छन् । अवसर पाउने ग्यारेन्टी भएनै १० मध्ये आधाभन्दा बढी सांसद पार्टीमा रहदैनन भन्ने कुरा प्रचण्ड-नेपालले राम्रोसँग बुझेका छन् ।
यस अवस्थामा मोर्चा बनाएर प्रचण्डले एकीकृत समाजवादीलाई बचाएर आफ्नो पनि बचाउ गरेको देखिन्छ । निष्कर्षमा राजनीतिक रुपमा समाजवादी मोर्चाको अर्थ त्यति धेरै देखिदैन । किनकी अहिलेको संसदीय अंकगणितमा घटनाक्रमले कांग्रेस र एमालेलाई एक ठाउमा ल्याएमा अरु मोर्चा र गठबन्धन एकै पटक औचित्यविहिन हुने देखिन्छ । त्यसैले समाजवादी मोर्चा सत्ता बार्गेनिंगको हतियार बाहेक अरु हुने देखिदैन ।