नागरिकता विधेयक ल्याएर फास्ट ट्रयाकबाट टुङ्ग्याऔँ : राजेन्द्र लिङ्देन - Chaitanya News
  • 2026-11-16
  • 08:10:23
  • सोमबार,मंसिर ०१, २०८३
  • नागरिकता विधेयक ल्याएर फास्ट ट्रयाकबाट टुङ्ग्याऔँ : राजेन्द्र लिङ्देन

    नागरिकता विधेयक ल्याएर फास्ट ट्रयाकबाट टुङ्ग्याऔँ : राजेन्द्र लिङ्देन

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयमा सत्तापक्ष आफैँले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसद्मा ल्याउन पनि सरकारलाई दबाब दिए।

    विधेयकको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरूको कुनै आपत्ति नरहेको अध्यक्ष लिङ्देनको भनाई थियो। उनले भने, ‘एउटा भाष्य निर्माण भइराखेको छ कि यो नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षहरूले जुन विरोध गर्‍यौँ। र, हामीले त्यसमा आफ्नो फरक मत राखिराखेका छौँ। त्यसलाई अहिले सत्तापक्षले नागरिकता नपाएका नेपाली नागरिकहरू, जो नागरिकताविहीन नेपालीहरू छन्। उनीहरूलाई भोट बैंकमा परिणत गर्ने अवसरको रूपमा उपयोग गर्न खोजेको देखियो। हामीले कुनै पनि नेपाली नागरिक जसका बाबुआमा नेपाली नागरिक छन्। तर अहिले उमेर पुगेर पनि नेपाली नागरिकताबाट वञ्चित छन्। उनीहरूले नागरिकता पाउनु हुँदैन भनेर भनेका छैनौँ हामीले।

    उनले थपे, ‘हामीले यो नागरिकता विधेयक आउनु हुँदैन भनेर भनेका छैनौँ। हामीले प्रक्रियाका कुरा गरेका छौ। र, त्यसमाथि अझ कन्टेन्टमा पनि केही छलफल गर्नुपर्ने कुराहरू छन्। र, छलफल गरेर लैजाऊ भनेर भनेका छौँ। सत्तापक्ष, यदि नागरिकता विधेयकबारे इमानदार थियो भने त्यो जे प्रक्रिया चलिराखेको थियो। र, जहाँ गएर अड्किराखेको थियो। त्यसमा विवाद छ। विवाद हुन्छ भन्ने कुरा सत्तापक्षलाई थाहा थियो। र, इमानदार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैन थियो? यसको बारेमा के गर्ने। यसलाई कसरी अगाडि बढाउने, चाँडै टुङ्गो लगाउनुपर्नेछ भन्ने ढङ्गले यसबाट निकास निकाल्न सकिन्थ्यो कि सकिँदैन थियो? सुटुक्कै, त्यो पनि भारत भ्रमणमा निस्कनु १–२ घण्टा अगाडि गर्नुपर्ने के कारण छ? र, अहिले रोकिएको एमालेको कारण, राप्रपाको कारण, रास्वपाको कारण रोकिएको हो? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो?’

    लिङ्दनेले भारतलाई तत्काललाई खुसी पार्नका लागि यो प्रमाणीकरण गरिएको दाबी गरे। ‘यो नागरिकता नपाएका मानिसहरू पनि खुसी हुन्छन्। आखिरी अदालत रोकिहाल्छ। कसै न कसैले उजुरी गरिहाल्छ। जानाजान गरेको विषय हो। यो चिज त हामीले भनेका छैनौँ। त्यसकारण यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ उनले भने, ‘अहिले पनि सरकार समस्याको समाधान चाहन्छ भने त्यो विधेयक संसद्मा ल्याओस्। सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु– फास्ट ट्रयाकबाट टुङ्गोमा पुर्‍याऔँ। यो कुनै आपत्तिको विषय होइन । यो नागरिकताको समस्या हामी सबैको समस्या हो। र, यसलाई छलफलबाट टुङ्गो लगाउनु पर्छ भन्ने कुरामा कुनै आपत्ति छैन। र, आपत्ति नरहेको कुरा म फेरि पनि दोहोर्‍याउन चाहन्छु। र, यसलाई राजनीतिकरण नगरियोस् भनेर भन्न चाहन्छु।