काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री गगन थापाले ट्रेड युनियनले देशको विकास भएन भन्ने भाष्य चिर्नुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनको उद्घाटनमा उनले भने, ‘मुलुकको विकास हुन नसक्नुमा ट्रेड युनियन हो भन्ने नयाँ पुस्ताले भाष्य निमार्ण गर्न खोजेको देखिन्छ। हामीले यो महाधिवेशनबाट यो भाष्य चिर्न सक्नुपर्छ ।’
पुराना पार्टीको सान्दर्भिकमाथि प्रश्न उठिरहेको भन्दै यसलाई चिर्नुपर्ने बेला आएको महामन्त्री थापाले बताए। ट्रेड युनियन कांग्रेसले आफ्ना माग सम्बोधनका लागि संघर्षमा उत्रिनुपर्ने उनले बताए। ‘श्रम आयोग, श्रम अदालतको कुरा हामीले पनि उठाउछौँ। तर ट्रेड युनियन कांग्रेसले पनि आन्दोलनमा उत्रिनुपर्छ। केही विषय सल्लाहमा हुन्छ, केही विषय संघर्षबाट हुन्छ,’ महामन्त्री थापाले भने।
नागरिकलाई कांग्रेस बनाउने ठूलो माध्यम ट्रेड युनियन कांग्रेस भएको महामन्त्री थापाले बताए। उनले भने, ‘हामी तपाईंसँग काम गर्न तयार छौँ। तपाईका कुरा पार्टीको नीति महाधिवेशनमा सम्बोधन हुन्छ। साथै उनले कांग्रेस बदल्नुपर्ने बताए। उनले भने, ‘कांग्रेस बदलिनुपर्छ। कांग्रेस नबदिए संकटमा पर्छ। कहिले हामीले झ्याल बदल्नुपर्छ। कहिले ढोका बदल्नुपर्छ । कहिले धुरी पनि बदल्नुपर्छ।