काठमाडौं– नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताएका हुन्।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएपनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुनै सहमति भएको छ रु भन्दै उनले प्रश्न गरेका छन्।
१० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको उनले बताए।
‘विद्युतको आन्तरिक खपत बढाउनुपर्ने हो। तर, आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ। ११३ वर्ष लामो विद्युत उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबै जनताले विद्युत प्राप्त गर्न सकेका छैनन्। हजारौं, लाखौं घरहरु अँध्यारोमा बसिरहेका छन्। विद्युतीय सवारीसाधन, इन्डक्सन चुलोलाई अहिले पनि ठिक ढंगले प्रयोग गर्न सकिएको छैन’ उनले भने।
एमाले सचिव समेत रहेका बिष्टले आन्तरिक खपत बढाउनु पर्नेमा विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गर्नु नहुने बताए।