उपेन्द्र यादव भन्छन्- परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौं - Chaitanya News
  • 2026-11-16
  • 08:08:33
  • सोमबार,मंसिर ०१, २०८३
  • उपेन्द्र यादव भन्छन्- परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौं

    उपेन्द्र यादव भन्छन्- परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौं

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील शक्ति एकताबद्ध भएर समाजवादी मोर्चा गठन गरिएको बताएका छन्।

    समाजवादी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि आफूहरू एक ठाउँमा उभिनुपरेको दाबी गरे।

    राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको बताउँदै उनले अब सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए। शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको यादवको दाबी छ।

    समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको उनले बताए।

    विभिन्न शक्तिहरूले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने षडयन्त्र गरिरहेको अध्यक्ष यादवको भनाइ थियो। ती प्रयासहरूलाई विफल पार्नका लागि समाजवादी मोर्चा एकताबद्ध भएर अगाडि बढ्ने उनको भनाइ थियो। उनले संसद् र सडकबाट समान विचारमा लड्ने बताए।