राजनीति अत्यासलाग्दो परिस्थितिबाट गुज्रेको बेला समाजवादी मोर्चा नयाँ प्रयोग भयो : विप्लव - Chaitanya News
  • 2026-11-16
  • 08:01:25
  • सोमबार,मंसिर ०१, २०८३
  • राजनीति अत्यासलाग्दो परिस्थितिबाट गुज्रेको बेला समाजवादी मोर्चा नयाँ प्रयोग भयो : विप्लव

    राजनीति अत्यासलाग्दो परिस्थितिबाट गुज्रेको बेला समाजवादी मोर्चा नयाँ प्रयोग भयो : विप्लव

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले राजनीति अत्यासलाग्दो परिस्थितिबाट गुज्रेको बेला समाजवादी मोर्चा एउटा नयाँ प्रयोग भएको बताएका छन्। मोर्चाले देशलाई अग्रगामी दिशामा लैजाने उनले दाबी गरे।

    सोमवार समाजवादी मोर्चा घोषणा कार्यक्रममा महासचिव विप्लवले समाजवादी मोर्चा नयाँ प्रयोग भएको बताएका हुन्। उनले देशलाई प्रतिगमनमा जान नदिन मोर्चा गठन भएको बताए।

    ‘राजनीति अत्यासलाग्दो परिस्थितिबाट गुज्रेको छ, जनता निराश छन्। यो परिस्थिति सामान्य छैन,’ विप्लवले भने, ‘समाजवादी मोर्चा नयाँ प्रयोग हो। सरकारमा रहेको र जनताको बीचमा संघर्ष गरेको पार्टी पनि एक ठाउँमा जम्मा हुनु अग्रगमनको लागि हो।’

    नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने प्रयत्न भइरहेको भन्दै उनले त्यस्तो हुन नदिने बताए।

    नेपालको स्वाधीनता र अधिकारको रक्षाको लागि आफूहरूले गरेको मोर्चा नयाँ र नौलो भएको दाबी उनले गरेका हुन्। ‘चार दलको लामो छलफलपछि जनताको चाहनाअनुसार आजको परिस्थितिबाट उठ्नुपर्छ भन्नेमा हामी पुगेका हौं। प्रतिगामी र पश्चगामीलाई मौका दिनु हुँदैन’ उनले भने, ‘नेपालको स्वाधीनता र अधिकारको लागि लडाई अगाडि बढाउनुपर्छ भनेर इतिहासमा मोर्चाको नयाँ अभ्यास गरेका हौं। यो नेपालको राजनीतिमा नयाँ र नौलो प्रयोग हो।

    सरकारमा रहेका पार्टी र आफूहरूको जस्तो पार्टी एक ठाउँमा उभिनु नै नौलो अभ्यास भएको उनको भनाइ छ।

    नयाँ पुस्तालाई उत्साहित बनाउन आफूहरू मार्चामा आवद्ध भएको उनले बताए। ‘नेपालीको चाहना समाजवाद हो। समुन्नत सुन्दर, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहन्छन्। यो मोर्चा यही सात बुँदे सन्देश बोकेर आएको छ,’ उनले भने।