अब नेपाल नभनौँ, चार मन्त्रीको देश भनेर भनौँ : ठाकुर गैरे - Chaitanya News
  • 2026-11-16
  • 08:01:29
  • सोमबार,मंसिर ०१, २०८३
  • अब नेपाल नभनौँ, चार मन्त्रीको देश भनेर भनौँ : ठाकुर गैरे

    अब नेपाल नभनौँ, चार मन्त्रीको देश भनेर भनौँ : ठाकुर गैरे

    काठमाडौं– नेकपा (एमाले)का सांसद ठाकुर गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले नल्याएको टिप्पणी गरेका छन्।

    सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद गैरेले सरकारले ७७ जिल्लामा समानुपातिक समावेशिताको आधारमा नभएर शक्ति र पहुँचका आधारमा बजेट योजना छनोट गरेको आरोप लगाए।

    उनले मुलुकभर भौतिक पूर्वाधार मन्त्रालयको आँखामा जिल्लामा संघीय सडकको विकास आयोजना निर्माण गर्नुपर्ने परिस्थिति नदेखिएको बताए।

    उनले अहिलेको बजेटले यो देश चार नेताको जस्तो देखिएको आरोप लगाए।

    ूअहिलेको बजेटले यो देश प्रकाश ज्वाला, प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको देश भनेर नाम परिवर्तन गरिदिनुस्। नेपाल राष्ट्र किन भन्ने। चारजना मन्त्रीको देश भनेर भनौँ। यस्तो खालको असन्तुलनबाट देश अघि बढ्न सक्दैन। सरकारको नियत नै देश विकासको भएन, उनले भने।