देवेन्द्र पौडेल भने् : पड्किसकेको गोली फर्किनु र राजा फर्किन्छ भन्नु एउटै हो - Chaitanya News
  • 2026-11-16
  • 07:32:27
  • सोमबार,मंसिर ०१, २०८३
  • देवेन्द्र पौडेल भने् : पड्किसकेको गोली फर्किनु र राजा फर्किन्छ भन्नु एउटै हो

    देवेन्द्र पौडेल भने् : पड्किसकेको गोली फर्किनु र राजा फर्किन्छ भन्नु एउटै हो

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्गीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समानरूपमा आउनुपर्ने बताए।

    उनले आफूहरू वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताए।

    मन्त्रीले दुई–चारवटा बजेट हाल्नु स्वाभाविक भए पनि देख्न र हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु नहुने उनको भनाइ छ। वर्तमान राज्यप्रणालीमाथि आक्रमण गर्नु संविधानविपरीत हुने सांसद पौडेलले बताए।

    ‘असफल भइसकेको, बगिसकेको खोला फर्किन्न भनेजस्तै। पड्किइसकेको गोली फर्किन्न भनेजस्तै त्यही प्रणाली फर्काउने र त्यतैपट्टी केन्द्रित भएर अहिलेको प्रणालीलाई हामीले आक्रमण गर्ने काम नगरौँ। संविधानविपरीत हुन्छ। यो विन्दुबाट समाजवादी प्रणाली निर्माण गर्नको निम्ति अगाडि बढ्नु अबको आवश्यकता हो। यो जनताले ल्याएको व्यवस्था हो। त्यसकारण अगाडि बढ्नुको विकल्प छैन,’ पौडेलले भने।

    उनले अगाडि थपे, ‘वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना भनेका छौँ। अनि एउटै क्षेत्रमा बजेट हाल्ने। मन्त्री भइसकेपछि दुई, चारवटा बजेट हाल्नु भएकोमा तपाईँलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो। तर देख्नै नसकिने गरी नगरिदिनु होला। त्यसो गरे क्षेत्रीयरूपमा उत्पीडनमा परेका भूगोल, उत्पीडनमा परेका ठाउँहरू अन्यायमा पर्छ। अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि। फेरी यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय गर्‍यौँ भने त राम्रो हुँदैन नि।

    सांसद पौडेलले स्थानीय, प्रदेश र संघ सरकारका बीचमा नीति, कार्यक्रम र बजेटको सन्दर्भमा तादम्यता नमिलेको पनि बताए।