मेयर बालेन्द्रलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण - Chaitanya News
  • 2026-11-16
  • 07:24:51
  • सोमबार,मंसिर ०१, २०८३
  • मेयर बालेन्द्रलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

    मेयर बालेन्द्रलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

    काठमाडौँ — सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो।

    यसै विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन्।

    प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताएको छ। ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं ९मेयर० को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु,’ प्राधिकरणले मेयर साहलाई शुक्रबार लेखेको पत्रमा उल्लेख गरिएको छ।

    प्राधिकरणका एक उच्च अधिकारीले यस विषयमा चित्तबुझ्दो जवाफ नपाएमा मेयर बालेनसहित संलग्नहरूलाई उडानमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ। प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ।