काठमाडौँ — जनमत पार्टीका अध्यक्ष एवम् सांसद चन्द्रकान्त (सीके) राउतले सरकारले बजेट ल्याएको हो कि लुटेको हो भनेर छुट्याउन नसकिएको बताएका छन्। उनले बजेटमाथि महिनौंसम्म छलफल चले पनि त्यसबाट एक अक्षर फेरबदल नहुने अभ्यासले झन् आफूलाई अफ्ठ्यारो महसुस भएको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै राउतले भने, ‘यो बजेट ल्याएको हो कि बजेट लुटेको हो? भन्ने कुरा स्पष्ट भएन । बजेट ल्याएको होइन कि बजेट त लुटिएको हो जस्तो देखिन्छ। बरू बाटोमा लैजाँदाखेरि कसैले देख्ला कि भनेर चानचुन बाँडेको जस्तो लाग्छ।
उनले बजेटले अहिले देश छोडेर पलायन भइरहेका युवालाई समेट्ने कुनै कार्यक्रम नसमेटेको बताए। ‘युवाहरू दिनानुदिन विदेश गइरहेका छन्। युवालाई स्वदेशमा रोक्ने कार्यक्रम आउला, सरकारले योजनाहरू बनाउला भन्ने सोचिरहेको थिएँ, तर त्यस्तो त केही पनि भएको छैन। नयाँ उद्योग खोल्ने योजना छैन, पुरानो उद्योगमा नयाँ रोजगारीको सम्भावना छैन,’ उनले भने।
उनले सरकारले मधेश प्रदेशलाई राजस्वभन्दा पनि कममात्रै बजेट दिइएको बताए। मधेशले राजस्वमा महत्त्वपूर्ण योगदान गरेको छ। तर बजेटमा भने सरकारले मधेशको योगदानलाई सम्मान गरेको छैन, उनले भने, मधेशबाट आएको राजस्वभन्दा कम बजेट मधेशलाई दिइएको छ। यस्तो किन भएको हो ?सरकारले जवाफ दिनुपर्छ।
उनले योजना र बजेटको बीचमा तालमेल समेत नमिलेको बताए।