काठमाडौं– नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ।
किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाल टिमको बिदाइ गरेका हुन्।
सेन्ट्रल एसियन भलिबल संघ ९काभा०अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेशन्स लिगमा प्रतिस्पर्धा गर्दैछ।
यो प्रतियोगितालाई नेपालले साउनमा श्रीलंकामा हुने सेन्ट्रल एसियन सिनियर मेन्स भलिबल प्रतियोगिता र असोजमा हुने एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ।
प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्।
प्रतियोगिता राउण्ड रोविन प्रणालीमा हुनेछ। कप्तान परिवर्तन नेपाल टिममा कप्तान परिवर्तन गरिएको छ।
इम रानामगर टिममा नहुँदा ३० वर्षीय हरिहजुर थापालाई कप्तानको जिम्मेबारी दिइएको छ। इम र हरिहजुर दुवै सेटर पोजिसनका खेलाडी हुन्।
त्रिभुवन आर्मी क्लबका हरिहजुरले नयाँ जिम्मेबारीका साथ आफू उत्साहित रहेको बताए।
त्यस्तै टिमका नियमित लिबेरो इश्वर थापामगर पनि यसपल्ट छैनन्। उनको स्थानमा नेपाल पुलिस क्लबका भीमबहादुर गाहा मगरले नेपाल टिमको प्रतिनिधित्व गर्नेछन्।
प्रशिक्षक जगदीश भट्ट र सहायक प्रशिक्षक भरत यादवको प्रशिक्षणमा नेपाल टिमले एक महिना तयारी गरेको हो।
आर्थिक अभाव भन्दै नेपाल भलिबल संघले यो प्रतियोगिताका लागि टिमको बन्द प्रशिक्षण भने राखेको थिएन।
हरिहजुर थापा, लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा।