काठमाडौं– सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बजेट प्रणाली सुधारको आवश्यकता औँल्याएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलको क्रममा उनले बजेट प्रणाली सुधार गर्नुपर्ने बताएका हुन्। बजेट प्रणालीलाई संशोधन गर्ने, सुधार गर्नेमा दिशामा लाग्नुपर्छ,” उनले भने।
सापकोटाले संसद्मा सांसदहरुहरुको उपस्थिति पातलो देखेपछि त्यस्तो हुनुमा प्रणाली पनि जिम्मेवार रहेको बताए।
“हाम्रा कुर्सी रित्ता छन्। सायद, माननीय सदस्यहरुको मात्रै यसमा दोष छ जस्तो लाग्दैन । यसका पछाडि बजेट प्रणाली पनि जिम्मेवार छ। पूर्वछलफलमा विषय राख्दै आएका छौँ,” सापकोटाले भने, “छलफलमा बसे पनि हुने, नबसे पनि हुने अर्थात यो छलफलमा सक्रियतापूर्वक रचनात्मक ढंगले भाग लिए पनि यसले ह्रस्वरदीर्घ पनि सुधार गर्दैन। त्यसो भएपछि यहाँ बसेर योगदान किन गर्नुपर्यो भन्ने भावना स्वाभाविक विकास हुन्छ।
उनले बजेट छलफललगत्तै आगामी वर्षको बजेट तयारी हुनुपर्ने बताए। बजेट सुधार, संशोधन, परिमार्जनको व्यवस्थामा लाग्न पनि उनले आग्रह गरे। नीति कार्यक्रम ठिकै भए पनि बजेटसम्म पुग्दा लय गुमेको उनको टिप्पणी छ।
“नीति कार्यक्रमसम्म ठिकै लय समातेको थियो। जब बजेट, कार्यक्रम, विनियोजनतिर हामी प्रवेश गर्यौँ, यसले लय बिराएको छ। बरालिएको छ,” सापकोटाले भने।