काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले क्रिकेट रंगशालाको नाममा छुट्याइएको बजेट कनिका छरेजस्तो भएको बताएकी छिन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्।
‘निर्माणतर्फको खेलकुद बजेट हेर्दा क्रिकेटमय भएको हो कि जस्तो देखिन्छ,’ उनले भनिन्, ‘तर, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने र थप ४ वटा क्रिकेट रंगशाला बनाउने बजेटमा उल्लेख गरिएको छ। विराटनगर क्रिकेट रंगशालालाई ४ करोड, धनगढी फाप्लाका लागि १ करोड, शुवर्णशम्शेर क्रिकेट रंगशालाको डिपिआरका लागि ५० लाख, भैरवा क्रिकेट रंगशालालाई ४० लाख यसरी कनिका छरेजस्तो क्रिकेट रंगशालाको नाममा बजेट छर्ने काम मात्रै भएको छ।
बजेट हेर्दा अधिकांश योजनाहरू सुरु मात्र गर्ने, अव्यवस्थित बनाउने र अलपत्र बनाउने सरकारको योजना देखिएको उनले बताइन्। निर्माणाधीन क्रिकेट रंगशाला पूरा नगरी अन्य रंगशालाको नाममा बजेट छुट्याउने सरकारको निर्णय गलत भएको उनको भनाइ छ।
‘डेढ दशकयता निर्माण थालिएको मुलपानी क्रिकेट रंगशालाले पूर्णता अझै पनि पाएको छैन,’ उनले भनिन्, ‘हरेक आर्थिक वर्षमा रकम छुट्याउने काम हुन्छ तर काम हुँदैन। त्यस्तै गौतम बुद्ध रंगशाला पनि अलपत्र छ। वर्षौँसम्म एउटा पनि रंगशाला निर्माणको काम पूरा गर्न नसकिनाले अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको बेइज्जत भएको छ। यो अवस्थामा थप क्रिकेट रंगशाला बनाउन बजेट छुट्याइरहेको छौँ। यो सरकारको निर्णय सहि छैन।
चितवनको गौतम बुद्ध रंगशालालाई १ लाखमात्रै छुट्याइएको भन्दै उनले असन्तुष्टि समेत पोखिन्। सरकारले धुर्मुस सुन्तली फाउन्डेशनले छाडेपछि सरकारले स्वामित्व लिन्छु भनेर घोषणा भएता पनि काम नभएको उनले बताइन्।