अभियोग पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ : टेकनाथका वकिल - Chaitanya News
  • 2026-11-16
  • 06:55:49
  • सोमबार,मंसिर ०१, २०८३
  • अभियोग पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ : टेकनाथका वकिल

    अभियोग पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ : टेकनाथका वकिल

    काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका वास्तविक शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट ७ जना अधिवक्ताहरुले बहस गरेका छन् बहसका क्रममा उनीहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरे।

    बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा चिया ब्रेकअघि रिजालतर्फका ७ जना वकिलले बहस गर्दै उनीमाथि लागेका कुनै पनि अभियोग पुष्टि नहुने जिकिर गरे।

    अर्का प्रतिवादीबाट रिजालले ११ लाख रुपैयाँ लिएको आरोप लगाइएपनि त्यसबारे कहीँ कतै पुष्टि हुन नसक्ने रिजालको वकिलहरुको जिकिर थियो।

    रिजालको तर्फबाट चिया ब्रेकअघि अधिवक्ताहरु राजकुमार सुवाल, सम्बेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, दुर्जेजंग थापा, प्रतिभा भट्ठराई र प्रकाश बस्नेतलले बहस गरेका छन्। चिया ब्रेक पछि थप केही अधिवक्ताले बहस गर्ने बताइएको छ।

    बहसका क्रममा सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा रिजालको संलग्नता नभरहेको जिकिर गरे। शरणार्थीको कार्ड बनाउने कार्य रिजालको नभई यो कार्य गृह मन्त्रालयको भएकाले त्यसमा रिजालको संलग्नताको सवाल नै नभएको जिकिर गरे।

    उनले अपराधीलाई भेट्दैमा केही अपराधी हुन नसक्ने उनको भनाइ थियो। उनी निर्दोष रहेकाले साधारण तारेखमा रिहा गरिनुपर्ने वकिलहरुको धारणा थियो।