काठमाडौँ– विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युत आयोजनालाई हकप्रद शेयर जारी गर्न अनुमति दिएपछि ५ मेगावाटको आयोजनाले पनि ५० मेगावाटको अर्को आयोजना बनाउन सुरु गरेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०को २१ औँ साधारणसभाको उद्घाटनमा बोल्दै अध्यक्ष सिंहले हकप्रदको अनुमति दिँदा राम्रो भएको बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा ठूलो उपलब्धि भएको सिंहको भनाइ छ। ‘हिजो ५० मेगावाट बिजुली किनिदिनुस् भन्ने अवस्था थियो। २०० मेगावाट किन्दा पनि दङ्ग पर्थ्यौ। अहिले त एकैपटक १० हजार मेगावाटको सम्झौता भयो। यो निकै ठूलो उपलब्धि हो’ उनले भने।
बंगलादेशसँग विद्युत् व्यापारका लागि नेपाल र बंगलादेश दुवैले भारतसँग बाटो माग्ने र डेडिकेटेड प्रसारणलाइन आफै बनाउनुपर्नेमा उनको जोड छ। प्राइभेट सेक्टरको रफ्तार रनवेबाट टेकअफ गरेको र अव यसको उडान निकै टाढासम्म हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
निजी क्षेत्रले विद्युत् व्यापार गर्ने कुरा आउँदा प्रसारणलाइनको कुरा आउँछ। तर ग्रीड कोड सम्बन्धी निर्देशिका बनाएको ४ महिनासम्म पनि सुझाव नआएको उनको भनाइ छ। अब इपानले सुझाव दिएर यसलाई अन्तिम रुपदिन सहयोग गर्न पनि उनले आग्रह गरे।
नेपालमा विद्युत् उत्पादन बढ्दै गएपनि यसको लागत बढ्दा उत्पादन पनि महँगिएको छ। तर अब उत्पादन लागत पनि घटाउँदै जानुपर्ने उनले बताए। त्यसका लागि विदेशमा रहेका पेनसन फण्डको पैसा ल्याएर जलविद्युतमा लगानी गर्न सके उत्पादन सस्तो हुने पनि उनको सुझाव छ। त्यसता फण्डको पैसा सस्तो ब्याजदरमा चलाउन पाइन्छ।