काठमाडौं– नेपाली स्टार बलर सन्दीप लामिछाने श्रीलंकाको प्रमुख फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिगको अक्सनमा अनसोल्ड भएका छन्।
एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाव्वेमा रहेका सन्दीपका लागि बुधबार कोलम्बोमा भएको अक्सनमा प्रतियोगिताका कुनै पनि टिमले बोली लगाएनन्।
आईपीएल र बिग बाससहित विश्वका प्रमुख लिगको अनुभव लिइसकेका सन्दीपले आफ्नो न्यूनतम मूल्य ३० हजार डलर राखेका थिए।
सन्दीपलाई अघिल्लो संस्करणका लागि दम्बुला औराले करिव ५० लाख रुपैयाँमा खरिद गरेको थियो।
अगष्टमा हुनुपर्ने प्रतियोगिता सन् २०२२ को डिसेम्बरमा पुग्दा सन्दीप नावालिग बलात्कार आरोपमा कारगार चलान हुँदा खेल्न पाएनन्।
प्रतियोगिताको आगामी संस्करण ३१ जुलाईदेखि २२ अगष्टसम्म आयोजना हुनेछ।
सन्दीप र अर्का नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा हुने ग्लोवल टी–२० लिगका लागि भने ड्राफ्टमार्फत छनोट भएका छन्।
मंगलबार राति भएको ड्राफ्टमा सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले लिएको हो।