काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले केही तत्व मुलुकमा द्वन्द्व निम्त्याउने षड्यन्त्रमा लागिरहेको बताएका छन्। बुधबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुराकानी गर्दै उनले १० वर्षे द्वन्द्वको घाउ कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउनु दुर्भाग्यपूर्ण भएको बताए।
१० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनीविरुद्ध पूर्वलडाकू लेनिन विष्टलगायतले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सो विषयमा प्रतिक्रिया दिँदै भट्टराईले केही पात्रहरुले उचालेर मुद्दा हाल्न लगाएको दाबी गरे।
बृहत् शान्ति सम्झौताले सबै कुराको सम्बोधन गरिसकेको भन्दै उनले त्यसलाई आफूले गम्भीरतापूर्वक लिन नचाहेको उनको भनाइ छ। यसरी नै मुद्दा उठाउँदै जाने हो भने त्यसले देश दुर्घटनामा जानसक्ने उनले चेतावनी दिए।
सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोग गठन गरेर यी समस्याको समाधान गर्नुपर्ने उनले बताए।