काठमाडौं– अर्जेन्टिनाका कप्तान लिओनल मेसीले सन् २०२६ मा हुने पिफा विश्वकप खेल्ने योजना नरहेको बताएका छन्।
आगामी विश्वकप उत्तर अमेरिकाको अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ।
मेसीले मंगलबार चिनिया स्पोर्ट्स मिडिया टिटन स्पोर्ट्ससँगको कुराकानीमा आगामी विश्वकप खेल्ने योजना नरहेको बताएका हुन्।
‘मलाई त्यस्तो लाग्दैन। यो नै मेरो अन्तिम विश्वकप हो,’ २०२६ को विश्वकप खेल्ने बारे प्रश्न गर्दा उनले भने, ‘म हेर्छु कस्तो हुन्छ तर अहिलेको अवस्थामा म अर्को विश्वकपमा जान चाहन्न।’
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग सम्झौता सकिएपछि बार्सिलोनाका यी पूर्व स्टार अमेरिकी क्लब इन्टर मियामी जाने पक्का छ।
गत डिसेम्बरमा कतारमा भएको विश्वकपमा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई १९८६ पछि पहिलो विश्वकप उपाधि जिताएका थिए।
सन् २००६ देखि लगातार विश्वकप खेलेका मेसीले पाँचौ प्रयासमा विश्वकप जितेका हुन्।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो तर जर्मनीसँग पराजित हुँदै उपविजेता बनेको थियो।
यस्तै मेसीले म्यानचेष्टर सिटीलाई पहिलो पटक च्याम्पियन्स लिग उपाधि सहित ट्रेबल जिताएका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको पनि प्रशंसा गरेका छन्। उनले पेपलाई विश्वकै उत्कृष्ट प्रशिक्षक समेत भनेका छन्।
हाल चीनमा रहेको मेसीको अर्जेन्टिनाले बिहीबार अष्ट्रेलियासँग बेइजिङमा मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि अर्जेन्टिनाले जुन १९ मा इन्डोनेसियासँग जकार्तामा खेल्नेछ।