विश्वकप छनोट : नेपालले भोलि ओमानसँग खेल्ने - Chaitanya News
  • 2026-06-06
  • 13:52:45
  • शनिबार,जेठ २३, २०८३
  • विश्वकप छनोट : नेपालले भोलि ओमानसँग खेल्ने

    विश्वकप छनोट : नेपालले भोलि ओमानसँग खेल्ने

    काठमाडौँ– जिम्बाब्वेमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअघिको तीन अभ्यास खेलमा नेपाली क्रिकेट टिमले पराजय भोगिसकेको छ। विश्वकप छनोटअघिको अन्तिम अभ्यास खेलमा नेपालले भोलि ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको खेल हरारे स्पोर्ट्स क्लब मैदानमा नेपाली समयअनुसार दिउँसो १२–४५ बजेबाट सुरु हुनेछ।

    जिम्बाब्वे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो। विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो। तर नेपालले दुवै खेलमा हार बेहोरेको थियो।

    दक्षिण अफ्रिकापछि जिम्बाब्वे पुगेको नेपालले विश्वकप छनोट अघिको औपचारिक अभ्यास खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ३ विकेटले पराजित भएसँगै नेपालले विश्वकप छनोट अघिको तीनवटै अभ्यास खेलमा पराजित भएको हो।

    तर भोलिको खेलमा ओमानलाई पराजित गरे नेपाली टिममा विश्वकप छनोटअघि आत्मविश्वास फर्किने अपेक्षा गरिएको छ।

    जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगिताको लागि नेपाली टिमको घोसणा भईसकेको छ। नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद र किशोर महतो छन्।